2082-02-17 Published on https://shabdapatra.com/news/2025/05/31/11483.html
झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य प्रतिष्ठान बहुप्राविधिक शिक्षालयले बिभिन्न योजना अघि सारेको छ । ‘सिपमुलक शिक्षा आजको आवश्यकता’ भन्ने नारालाई आत्मसाथ गर्दै स्थापना भएको शिक्षालयले आज (शनिवार) बसेको बैठकले बिभिन्न निर्णय गरेको हो ।
प्रतिष्ठानले आगामी दिनमा, स्थानीय तहसँग सहकार्य गरेर बिद्यार्थी भर्नालाई सहज बनाउने, बिद्यार्थी भर्ना कार्यक्रमलाई ब्यापक बनाउँदै प्रचारप्रसारलाई तीव्र बनाउने, प्रतिष्ठानका अघिल्ला पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँग छलफल गर्ने, सामासदायिक बनका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रियात्मक कार्यक्रम गर्नेलगायतका योजना अघि सारेको छ ।
सीटिइभिटीसँगको सँगको साझेदारीमा स्थापित बहुप्राविधिक शिक्षालय बिर्तामोड–१० मा तीन कठ्ठा जग्गा खरिद गरेको छ । प्रतिष्ठानका उपाध्यक्ष यामकुमार खड्काले संस्थाका लागि न्यूनतम दरमा प्रतिष्ठानका नाममा पास गरिएको अध्यक्ष युवराज डाँगीले जानकारी दिए । अध्यक्ष डाँगीका अनुसार खड््काले आगामी मंसीरसम्ममा पैसा दिने गरी प्रति कठ्ठा ८ लाख रुपैयाँका दरले तीन कठ्ठा जग्गा प्रतिष्ठानको फर्मेसी सञ्चालनका लागि न्यूनतम मूल्यमा पास गरिदिएका छन् ।
शिक्षालयमा तीन बर्षे बाली विज्ञान, पशु विज्ञान, बन बिज्ञानसहित तीन बर्षे होटल म्यानेजमेन्टको डिप्लोमाका कक्षा सञ्चालन हुँदै आएको प्रतिष्ठानका सचिव मदनकुमार उप्रेतीले जानकारी दिए ।
शिक्षालयमा अनुभवी, विषयविज्ञ प्रशिक्षकद्वारा कक्षा सञ्चालन साथै मल्टिमिडिया तथा प्रजेक्टसहित सुबिधा सम्पन्न कक्षा कोठाबाट अध्यापन गराइँदै आएको उनको भनाई छ । उनका अनुसार अंग्रेजी र नेपाली दुवै माध्ययममा कक्षा सञ्चालन हुने र प्रयोगात्मक अभ्यासमा प्रोत्साहन गरिनेछ । जसका लागि विषयगत विज्ञान प्रयोगशाला पनि रहेको छ ।
शिक्षालयमा बाली विज्ञानका लागि पर्याप्त कृषि फिल्ड तथा कृषि ल्यावको, पशु विज्ञानका लागि पर्याप्त पशुपंक्षि, माछा, डेरी र भेटेरिनरी ल्याव, वन विज्ञानका लागि पर्याप्त निजी वनजङ्गल तथा ल्याव, होटल म्यानेजमेन्टका लागि होटल, रेष्टुरेन्ट, क्याफे तथा प्रयोगात्मक स्थल रहेको सचिव उप्रेतीले बताए । उनका अनुसार प्रतिष्ठानको वेवसाइट समेत निर्माण गरिएको छ ।
शिक्षालयमा व्यवस्थित कम्प्युटर ल्यावको व्यवस्था, कक्षा कोठाका लागि पर्याप्त भौतिक पूर्वाधार, विपन्न तथा जेहेन्दारतर्फ विशेष छात्रवृत्तिको कोटा उनले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष युवराज डाँगीको अध्यक्षतामा भएको वैठकमा प्रतिष्ठानका सल्लाहकार संयोजक झलकसिंह दर्लामी, सल्लाहकार दुर्गाप्रसाद चापागाई, हरिकुमार राना, कोषाध्यक्ष प्रकाश भट्टराई, कानुनी सल्लाहकार येदुनाथ दाहाल, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।



